हालसम्म मुखको क्यान्सर भएका बिरामीमा नब्बे प्रतिशत बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ किनभने धूमपानले शरीरमा प्रत्यक्ष ३५ किसिमका रोग र आधा क्यान्सर लगाउँछ भने टाउकाको रौंदेखि खुट्टाको पाइतालासम्मका सबै कोष, अंग र तन्तुलाई नोक्सान मात्र पुर्‍याउँछ । आधुनिक समाजमा रक्सी सेवन चर्को छ, मुख, घाँटी र कलेजोको क्यान्सर अत्यधिक र कडा रक्सीले बनाउँछ । इप्सटन वार, साइटोमेगालो इनक्लुजन, हप्स सिम्प्लेक्स, एचआईभी, भेरिसेलाजुस्टर भाइरस, ह्युमन प्यापिलोमा र क्यान्डिडाको संक्रमणले पनि मुखको क्यान्सर निम्त्याउँछ । फलाम, जस्ता, तामा र म्यागजिन र भिटामिन ए, ई र सी को कमीले मुखको क्यान्सर बनाउँछ ।
धार्मिक महत्त्व राख्ने सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ, खटिरा आउने अवस्था ओरल सबम्युकस फाइब्रोसिस हुँदै मुखको क्यान्सर बनाउँछ । तिखा दाँत, नमिलेका दाँत, नमिलेका नक्कली दाँत, भाँचिएका दाँत, फोहोर मुख, ज्यादै मसलादार, तातो खाना, रातो खुर्सानी, धेरै नुन लगातार लामो समयसम्म प्रयोग गर्दा मुखको क्यान्सर बन्छ । विकीरण र एक्सरेले पनि मुखको क्यान्सर बनाउँछ । दुई प्रतिशतभन्दा कममा कारक आनुवंशिक तथा वंशानुगत रूपमा परिवारमा भएको देखिन्छ ।
आधुनिकता तथा एचआईभी एड्स, नसर्ने र गर्भ नरहने सम्भोग भन्दै बढ्दै गएको मुख मैथुनले बढाउँदै छ मुखको क्यान्सर । धेरै यौनसाथीहरूसँग सम्बन्ध बनाएर मुख मैथुन गर्ने महिलामा मुख तथा घाँटीको क्यान्सर हुन सक्ने सम्भावना बढी भएको स्विडेनकोे अनुसन्धानले देखाएको छ । प्रजनन अगंको रोग जेनाइटल वार्टका लागि जिम्मेवार विषाणु पेपिलोमा भाइरसका कारण नै आजकल मुख तथा घाँटीको क्यान्सरको प्रमुख कारक बन्दै छ । पाठेघर मुख क्यान्सर बनाउने कारक एचपीभीको संक्रमण मुखमा देखिएको छ । ओहियो विश्वविद्यालयको खोजमा समेत समग्रमा सुर्ती सेवनभन्दा बढी मुख मैथुन नै मुख क्यान्सरको कारक देखिएको छ ।
बेलायतमा भएको अनुसन्धानमा बढी यौनसाथी वा ६ भन्दा बढी यौनसाथी हुनेमा एचपीभीले हुने घाँटी र टाउकाको क्यान्सर ४ गुणा बढी हुन्छ भन्ने देखिएको छ । सर्वेक्षणमा पुरुषमा पहिलो र महिलामा तेस्रो पाठेघर र स्तन क्यान्सरपछि प्रमुख अर्बुदरोग मुखको क्यान्सरको छ । विकसित मुलुकमा ५ प्रतिशत तथा भारतमा ४० प्रतिशत देखिएकाले नेपालमा पनि ४० प्रतिशतसम्म क्यान्सर मुखको छ । अझै भयानक रूपमा क्यान्सर हुनुभन्दा पहिलेको अवस्था पि्रक्यान्सेरस लिजन र कन्डिसन पाइन्छन् ।
गाउँका बासिन्दाभन्दा सहरियामा ६ गुनाले बढी देखिएको मुखको क्यान्सरले कुनै पनि जात, धर्म, उमेर, वंश, लिंग र ठाउँलाई छोड्दैन । मुखमा रातो, खैरो, सेतो वा मिश्रति दाग, धब्बा देखिन्छ जुन दल्दा जाँदैन । नदुख्ने वा दुख्ने घाउ खटिरा वा सुजन २-३ हप्तासम्म उपचार गर्दा निको हुँदैन । मसलादार खाना खाँदा पोल्छ, छाम्दा साह्रो हुन्छ र दुर्गन्ध आउँछ । घाउ सुजनको आकार बढ्दै जान्छ । र्‍याल बढी आउँछ । दाँतहरू बिनाकारण र्झछन् । स्वाद फरक पर्छ । खान, निल्न, पिउन अप्ठेरो हुन्छ ।
त्यसपछि घाउ, खटिरा तलको तन्तुसँग टाँसिन्छ । लामो समयसम्म निल्न गाह्रो हुन्छ । सुजन चलाउन मिल्दैन, सुन्निन्छ । घाउ वा पत्र वा फिसर र फोल्डमा अस्वाभाविक रक्तस्राव हुन्छ । घाउ खटिराको वरिपरि बाक्लो र मोटो हुन्छ । घाँटीमा गिर्खाहरू देखा पर्छन् । क्यान्सरको कोष फोक्सोमा फैलिए श्वासप्रश्वास सम्बन्धी, कलेजोमा फैलिए जन्डिस र मुटुमा फैलिए तत्सम्बन्धी थप लक्षण देखा पर्छन् ।
सुरुकै अवस्थामा निदान र उपचार हुन सक्यो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल भएकामा भन्दा सफल भई क्यान्सर निको हुन्छ । धनजनको क्षति न्यूनीकरण हुन्छ । तथापि मुखको क्यान्सरबाट पाइने दुःख, हुने विकृति, समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलै नियन्त्रण गर्न सकिने भएकाले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ । रोकथाम गर्न सकिन्छ किनभने मुखको क्यान्सर बनाउन सक्ने कारण लामो समयदेखि पहिचान भइसकेका छन् । मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलै निदान गर्न सकिन्छ ।